Tuesday, June 16, 2009

'सिभिल' मा खटिएका घुमुवा प्रहरी 'पोका' तिर

Limbustudents form
भारतीय नाकाबाट हुने आपराधिक गतिविधि नियन्त्रण गर्न नेपालगन्ज भन्सार कार्यालय आसपास 'सिभिल' मा खटिएका घुमुवा प्रहरी आफ्नो जिम्मेवारी छोडेर 'पोका' तिर ध्यान दिन थालेका छन् । हातहतियार नेपाल भित्रिन नदिन, चोरीनिकासी रोक्न र सम्भावित हिंसात्मक गतिविधिबारे सुराकी गर्न नेपालगन्ज भन्सार कार्यालयआसपास करिब दुई दर्जन घुमुवा प्रहरी खटाइएका छन् । भारतको रुपैडिहा बजारबाट ल्याइने सामानको चेकजाँचका लागि 'युनिर्फम' मा सशस्त्र, जनपद प्रहरी खटाइएका छन् । साथै, बाटामा चेकजाँचका लागि भन्सारका कर्मचारी पनि राखिएका छन् । तर, उनीहरूलाई उछिन्दै घुमुवा प्रहरीले नेपालगन्ज-रुपैडिहा बजार ओहरदोहोर गर्नेले ल्याएका पोका चेकजाँच गर्ने गरेका छन् । आफू 'घुमुवा प्रहरी' भएको परिचय दिँदै उनीहरूले भन्सारका कर्मचारीलाई समेत धम्काउने गरेको एक कर्मचारीले बताए । 'भन्सार आसपास आफूलाई 'घुमुवा' प्रहरी भन्नेहरूको आतंक छ,' नेपालगन्ज भन्सार कार्यालयका एक कर्मचारीले भने, 'उनीहरू गलत क्रियाकलापको सूचना संकलन गर्नुको साटो पोकातिर ध्यान दिन्छन् ।' त्यसो नगर्न अनुरोध गर्दा घुमुवा प्रहरीले भन्सार कर्मचारीलाई घुस लिएको अभियोगमा प्रक्राउ गरी कारबाही गर्ने धम्की दिने गरेको ती कर्मचारीले बताए । 'बोल्न हुन्न, धम्काइहाल्छन्,' उनले भने । भन्सार कार्यालयआसपासका क्षेत्रमा शंकास्पद गतिविधिबारे सूचना संकलन गर्ने उद्देश्यले अनुसन्धान, जिल्ला प्रहरी र सशस्त्र प्रहरीका दुई दर्जन घुमुवा प्रहरी खटाइएका छन् । नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत श्यामप्रसाद पाण्डेले भन्सार असुलीमा घुमुवा प्रहरीको कुनै भूमिका नदेखिएको प्रतिक्रिया दिए । उनले भने, 'आफूलाई घुमुवा प्रहरी भएको दाबी गर्नेहरू हुनसक्ने आपराधिक गतिविधिको सूचना संकलन गर्न छोडेर पोका, बोरा चेकजाँच गरिरहेका हुन्छन् ।' 'भन्सार राजस्वमा वृद्धि गराउन भनेर भन्सारमा घुमुवा खटाइएका छन् । तर, यसको प्रभाव भने अहिलेसम्म देखिएको छैन,' उनले थपे । उनीहरूको यस्तो व्यवहारले सर्वसाधारण दोहोरो चेकजाँचको मारमा पर्ने गरेका छन् । त्यसैगरी भारतबाट नेपालमा हातहतियार र विस्फोटक पदार्थ पनि भित्रिने गरेको छ । केही दिनअघि मात्र लुटपाटमा संलग्न भएको अभियोगमा पक्राउ परेका व्यक्तिले फलफूलको डब्बामा राखेर इटालियन पेस्तोल भारतबाट नेपाल ल्याएको खुलासा गरेका थिए । भारतको रुपैडिहादेखि नेपालगन्ज बजार आउने क्रममा जनपद तथा सशस्त्र प्रहरीले ६ स्थानमा चेकपोस्ट राखेका छन् । यता, बाँकेका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र बानियाँले सशस्त्र गतिविधिमा संलग्न समूह र हातहतियार भित्रिन नदिन व्यापक रूपमा घुमुवा प्रहरी तैनाथ गरेको जानकारी दिए । उनले कोही कसैले घुमुवा प्रहरीको हवाला दिएर गलत कार्य गरेका भए त्यसबारे सीधै आफूकहाँ उजुरी गर्न आग्रह गरेका छन् । 'गलत काम गर्ने घुमुवा प्रहरीलाई कारबाही हुन्छ । उसको नाम दिनुस्,' प्रमुख जिल्ला अधिकारी बानियाँले भने ।

No comments:

Post a Comment