Tuesday, June 16, 2009

कांग्रेस नेत्री शैलजा आचार्यको शुक्रबार निधन

Limbustudents form
नेपाली प्रजातान्त्रिक आन्दोलनकी योद्धा एवं कांग्रेस नेत्री शैलजा आचार्यको शुक्रबार बिहान ४ बजेर २५ मिनेटमा निधन भयो । लामो समयदेखि अस्वस्थ आचार्यको स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबारदेखि उनलाई शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो । मुटु, श्वास-प्रश्वासमा समस्यासहित नाडीको पल्स गुमेको अवस्थामा शिक्षण अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । अस्पतालले आचार्यको निधनको जानकारी दिँदा अस्पतालमा स्व. आचार्यसामु भाइ प्रदीप, बुहारी निता, सहयोगी शम्भु महर्जन र सुरक्षार्थ खटिएका वासुदेव पौडेल मात्र थिए । अस्पतालले आचार्यको निधनबारे जानकारी उपलब्ध गराएको तीन घन्टापछि मात्र कांग्रेस पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाट अस्पताल परिसरमा देखिए । त्यसैगरी ७:२४ मा कांग्रेस केन्द्रीय सदस्य चक्रप्रसाद बास्तोला, साढे सात बजे शेखर कोइराला त्यहाँ पुगे । ७:४० मा विनाविभागीयमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल पनि शिक्षण अस्पतालमा देखिए । खबर गरेको घन्टौंसम्म पनि पार्टी नेताहरू अस्पतालमा नदेखिँदा स्व. आचार्यका आफन्त खिन्न देखिन्थे । आचार्यको पार्थिव शरीरलाई नौ बजेसम्म शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो । त्यहाँ कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, कांग्रेसका तर्फबाट मन्त्री भएका सुजाताबाहेक सबै मन्त्रीहरू पुगेका थिए । ढिलै भए पनि अस्पताल परिसरमा कांग्रेस नेताहरू र कार्यकर्ताहरू आउनेक्रम जारी रह्यो । बिहीबार मात्र बेलायतबाट आएकी नेत्री आचार्यकी बहिनीकी छोरी गरिमा सबैभन्दा बढी भावविह्वल देखिइन् । गरिमा नेता चक्रप्रसाद बास्तोला अर्थात् स्व. आचार्यकी बहिनीज्वाइँकी छोरी भए पनि उनको रेखदेख र पालनपोषण नेत्री आचार्यले नै गर्दै आएकी थिइन् ।
सिंगो जीवन राजनीतिमा बिताएकी आचार्यको निधनबारे खबर दिएको तीन घन्टासम्म पनि अस्पताल पुगेनन् पार्टी नेताहरू
आचार्यको शव शिक्षण अस्पतालबाट कांग्रेस मुख्यालय सानेपा लगिएको थियो । त्यहाँ स्व. आचार्यप्रति अन्तिम श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता एवं शुभचिन्तकको ठूलो भीड लागेको थियो । कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेत्री आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको चारतारे झन्डा ओढाएका थिए । अस्पतालबाट पार्टी कार्यालयमा शव पुर्‍याउन केही ढिला भएपछि सभापति कोइरालाले कार्यालयमा नै प्रतीक्षा गर्नुपरेको थियो । कोइराला पार्टी कार्यालय १० बजे नै पुगेका थिए । निकै शोकाकूल देखिएका सभापति कोइरालाले शैलजालाई श्रद्धाञ्जली दिए । र, शवलाई एक फन्को घुमेर नजिकै राखेको पालमुनि बसेका थिए । उनले शैलजाको बारेमा केही बोल्ने जर्मको त गरे तर बोली अवरुद्ध भयो । त्यसपछि कोइराला त्यहाँबाट हिँडे । आचार्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले राष्ट्रियता र प्रजातान्त्रिक आन्दोलनलाई ठूलो धक्का लागेको ठहर गरेको छ । बैठकले देशभरका पार्टी कार्यालयमा तीन दिनसम्म आधा झन्डा झुकाइने र कार्यालय बन्द गर्ने तथा १३ औं दिनको पुन्यतिथिमा श्रद्धाञ्जली समारोह आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । आचार्यप्रति श्रद्धाञ्जली प्रकट गर्न पार्टी कार्यालय, सानेपामा प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा र सूर्यबहादुर थापा, एमाले अध्यक्ष झलनाथ खनाल, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री विजय गच्छदार, रक्षामन्त्री विद्या भण्डारी, एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै संवैधानिक निकायका प्रमुखहरूसमेतको उपस्थिति रहेको थियो ।आचार्यको शुक्रबार अपराह्न पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । स्व. आचार्यलाई भाइ प्रदीप आचार्यले दागबत्ती दिएका थिए ।

No comments:

Post a Comment