Saturday, June 20, 2009

औद्योगिक सुरक्षा बलका प्रहरी तास खेलेर

Limbu student forum
औद्योगिक करिडोर सुरक्षाका लागि स्थापित औद्योगिक सुरक्षा बलका प्रहरी तास खेलेर दिन काट्ने गरेका छन् । उनीहरू गस्तीमा कम, खेल्नमा बढी चाख दिन्छन् । घटना
भइसकेको खबर आएपछि मात्र सुरक्षा बलका प्रहरी 'एलर्ट' हुने गरेका छन् । बाराको सिमरास्थित एयरपोर्टमा स्थापित सुरक्षा बलका प्रहरीले औद्योगिक क्षेत्र सामान्य अवस्थामा रहेको भन्दै तास खेलेर दिन काट्ने गरेका हुन् । सो सुरक्षा बलका कमान्डर प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद भुजेलले भने, 'कुनै घटना भएको खबर आएपछि सुरक्षा दिन जाने हो, अरूवेला 'केटा' हरू खेलेरै बस्छन् ।' सरकारले पथलैया-वीरगन्ज औद्योगिक करिडोरका दुई सय ७३ उद्योगको सुरक्षाका लागि ०६३ सालमा सिमरामा औद्योगिक सुरक्षा बल स्थापना गरेको हो । सुरक्षा बल स्थापनापछि पनि सुरक्षा व्यवस्था नभएको भन्दै व्यवसायीले गुनासो गर्दै आएका छन् । सुरक्षा नभएको भन्दै सो करिडोरका उद्योगसमेत बन्द भइरहेका छन् । 'सुरक्षा बलका प्रहरी संवेदनशील छैनन्,' उद्योगीहरूको सामूहिक भनाइ छ, 'सुरक्षा बल कहाँ छ, थाहा छैन ।' घटना भइसकेपछि खबर गर्दा पनि सुरक्षा बलका प्रहरी नआएको उनीहरूको गुनासो छ । एयरपोर्ट भवनको एउटा कोठामा प्रहरी सहायक निरीक्षक भुजेलको कमान्डमा २२ जना प्रहरी छन् । तर, बलका प्रहरी गस्तीमा हिँडेको नदेखिएको उल्लेख गर्दै व्यापारी रामनारायण साह भन्छन्, 'घटनापछि पनि ढिलोगरी प्रहरी घटनास्थलमा पुग्ने गरेको पाइन्छ ।' सुरक्षा व्यवस्था मिलाउने बलका प्रहरीलाई उद्योग वाणिज्य संघ बाराले विभिन्न प्रकारले सहयोग गर्दै आएको छ । तर, सुरक्षा भने नपाएको संघले पनि जनाएको छ । गस्तीमा हिँड्नका लागि डिजेल, टायरलगायतका सामान सुरक्षा बललाई सहयोग गर्ने गरेको उद्योग वाणिज्य संघ बाराका अध्यक्ष शिवनाथ शर्माले बताए ।

No comments:

Post a Comment