Monday, July 13, 2009

झाडापखाला नियन्त्रण गर्न औषधी पुगे

Limbustudent, kathmandu
जाजरकोट/ जाजरकोटमा फैलिएको झाडापखाला नियन्त्रण गर्न औषधी पुगे पनि स्वास्थ्यकर्मी अभावमा बिरामीको उपचार राम्रोसँग हुन सकेको छैन । महामारी रोक्न नेपाली सेना र व्यक्तिगत सहयोगमा प्रभावित क्षेत्रमा शनिबारदेखि हेलिकोप्टरबाट औषधी पठाउन थालिएको हो ।नेपाली सेनाको हेलिकोप्टरले जिल्लाको चार ठाउँमा र जाजरकोेटका समाजसेवी राजीवविक्रम शाहले भाडामा ल्याएको हेलिकोप्टरबाट सात ठाउँ गरी ११ स्थानमा औषधी पुर्‍याइएको छ । सेनाको हेलिकोप्टरले जिल्लाका सीमा, दसेरा, दह र दल्लीमा र शाहले भाडामा लिएको फिस्टेल एयरको हेलिकोप्टरले कैना, सक्ला, रामीडाँडा, रग्दा, ढिमे, पैंक र अर्छानीमा औषधी पुर्‍याएको छ ।सेनाको हेलिकोप्टरले केही ठाउँमा आइतबार थप औषधीसमेत पुर्‍याएको छ । सेनाले झाडापखाला नियन्त्रणका लागि जिल्लाका दह, दसेरा र सीमामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्लाको पूर्वी इलाकामा औषधी पुगे पनि त्यहाँ स्वास्थ्यकर्मीको व्यवस्था हुन सकेको छैन ।रोग प्रभावित क्षेत्रमा औषधी पुगे पनि बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मीको भने कमी भएको छ । स्वास्थ्य संस्था र केही स्थानमा मात्र स्वास्थ्य सहायकभन्दा तलका स्वास्थ्यकर्मी परिचालित गरिएका छन् । प्रकोप प्रभावित क्षेत्रका दुर्गम गाउँमा स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । मेडिकल अधिकृतस्तरका स्वास्थ्यकर्मी परिचालन नहुनुले बिरामीको उपचारमा समस्या आएको सक्ला-२ का महेन्द्रबहादुर सिंहले बताए । उनले भने, 'रोग नियन्त्रणका लागि केन्द्र र क्षेत्रबाट स्वास्थ्यकर्मी उपचारका लागि दुर्गम गाउँमा जान मान्दैनन् ।'वैशाखको दोस्रो सातादेखि फैलिएको झाडापखालाबाट हालसम्म एक सय दुईजनाको ज्यान गइसकेको छ । पर्याप्त औषधी र स्वास्थ्यकर्मी नहुँदा झाडापखाला नियन्त्रण हुन नसकेको गुनासो जिल्लावासीले गरेका छन् ।

No comments:

Post a Comment