Monday, July 13, 2009

प्राथमिककालीन नेपाली कविभानुभक्त

Limbu student forum
प्राथमिककालीन नेपाली कवि हुन् भानुभक्त । रामायण, वधूशिक्षा, प्रश्नोत्तरमाला, रामगीतालगायतका कृतिका स्रष्टा । लामो समयदेखि नेपाली साहित्य र संस्कृतिमा उनी र उनका रचनाहरूको प्रभाव रह्यो । नेपालभित्र मात्रै होइन, दार्जिलिङ, सिक्किम, असमलगायतका नेपालबाहिरका नेपाली बस्तीमा पनि उनको सम्झना गरिन्छ । पछिल्लो समयमा भानुभक्तको योगदान र उनका रचनाको प्रभावबारे सकारात्मक र आलोचनात्मक दुवै कोणबाट बहस थालिएको छ । उनको आदिकवि उपाधिबारेको विवाद निकै पहिलेदेखि नै चल्दै आएको हो । अहिले नेपाली साहित्यमा उनको स्थान र उनका रचनाको सांस्कृतिक मूल्यबारे पुनर्विचार गर्नुपर्ने तर्क पनि जोडका साथ उठाइएको छ । असार २९ कवि आचार्यको जन्मदिन हो । भानुभक्तको योगदानबारे केही साहित्यकारका विचार : निनु चापागाईंभानुभक्तलाई अझै पनि आदिकवि मानिरहनु जरुरी छैन । उनले नेपाली साहित्यको एकता गरे भन्नु अवैज्ञानिक तर्क हो । कोसँग रेकर्ड छ, त्यस बेलामै भानुभक्तका रचना कतिजना नेपालीले पढे ? कुनकुन समुदायका नेपालीले के-कति पुस्तक पढे र त्यसले एकताको भावना सिर्जना गर्‍यो ? उनको 'रामायण'मा नेपालका फरकफरक भाषा र जातिका मान्छेलाई एकतामा बाँध्ने विषय कहाँ छ ? उनको साहित्यले शिक्षा दिने भनेको महिलामाथि शासन गर, अर्को जन्मका लागि शासकहरूको सेवा गर भन्ने नै हो । उनको कामले शासकवर्गलाई सहयोग पुगेको थियो र शासकवर्गले पनि उनको बढी प्रचार-प्रसार गरेको हो ।भानुभक्त शासकवर्गका सांस्कृतिक हतियार हुन् । 'वधूशिक्षा', 'रामायण' जस्ता उनका कृति बढी हानिकारक छन् । अहिलेको परिस्थितिमा भानुभक्तलाई 'अति श्रद्धा' गर्नु जरुरी छैन ।- खगेन्द्र संग्रौलाभानुभक्तले नेपाली भाषालाई लोकपि्रय बनाए, 'रामायण'लाई नेपाली भाषामा लेखे । तर, रामायण हिन्दू धर्मको ग्रन्थ हो । काव्यका दृष्टिले महत्त्वपूर्ण भए पनि यसले सामन्त राजालाई मात्रै महत्त्व दिन्छ । भानुभक्तले नेपाली भाषा र संस्कृतिलाई एकीकरण गरे भन्ने म मान्दिनँ । उनलाई मान्ने परम्पराले एउटै जाति, धर्म र वर्गको मात्रै प्रतिनिधित्व गर्छ । उसबेला राज्यमा त्यही वर्गको मात्रै पहुँच थियो, त्यसैले भानुभक्तलाई स्थापित गराइयो । बाहुन, क्षेत्रीहरूको पहुँच भएको राज्यमा भानुभक्तभन्दा अरू कसैलाई आदिकवि मानिनेवाला पनि थिएन ।भानुभक्तअघि पनि नेपालमा धेरै कवि जन्मिएका हुन् । कोही पनि 'आदि' भन्ने हुँदैन । उनी समकालीनहरूमा लोकपि्रय मात्रै हुन् । यस आधारमा म उनलाई आदिकवि मान्दिनँ । हामी गणतन्त्रमा गइसकेपछि अब पारिजात, चित्तधर हृदय आदिले भानुभक्तको ठाउँ लिन्छन् जस्तो लाग्छ ।- डा . तुलसी भट्टराईभानुभक्तलाई आदिकवि मान्नैपर्छ । भानुभक्तलाई नमान्नु बाआमा नमान्नुजस्तै हो । उनी भाषापिता हुन् । उनले नेपालीमा कविता लेख्न सुरु नगरेका भए मोतीरामहरू कहाँ जन्मिन्थे ? उनी भाषिक आन्दोलनका क्रान्तिकारी योद्धा हुन् । डेढ सय वर्षअघिका कवितालाई अहिलेका आँखाले हेर्न मिल्दैन । उनीअघि नेपाली समाजमा संस्कृत भाषाको बोलवाला थियो । त्यस्तो बेला नेपाली साहित्यमा लागिपरेका उनी इतिहासका महान् पुरुष हुन् ।विसं १९०४ मा दरबार हाई स्कुल खुलेपछि अंग्रेजी भाषाको प्रचार हुन थाल्यो । त्यसबेला भानुभक्तले जनबोली र जनभाषालाई उठाए । भानुभक्तले रामायणलाई नेपालीमा लेखेर ठूलो काम गरे । भाषा त आत्मा हो । आफ्नो आत्मालाई नमान्नेहरू सतही विश्लेषण गरेर भानुभक्तलाई आदिकवि मान्दैनन् ।- कुन्ता शर्मासंस्कृत भाषा मात्र प्रयोगमा आएको नेपाली समाजमा नेपाली भाषामै भानुभक्तले जीवनका धेरै समय खर्चिए । उनीभन्दा अघि पनि कविहरू थिए । तर, उनीहरू कि हिन्दीमा, कि त संस्कृतमा लेख्थे । यस्तो अवस्थामा उनले नेपालीमा पनि लेख्न सकिन्छ है भन्दै सबैलाई देखाइदिए । यो एउटा सकारात्मक कदम हो । उनले त्यस बेलाको समाजको भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताको भण्डाफोर गरे, उनमा सामाजिक क्रान्तिचेतना थियो । तर, भानुभक्तले महिलाको स्वतन्त्रता कहिल्यै चाहेनन् । उनले महिला समाजमा वर्जित छ भनिदिए, जसले पछिसम्म पनि नेपाली समाजमा एउटा नकारात्मक छाप छोड्यो । उनले नारीहरू हाँस्नु हुन्न भनिदिए । 'वधूशिक्षा' कृतिमा उनले वेश्याहरू मात्रै हाँस्छन्, असल नारी हाँस्दैनन् भने । उनको यस्तो अभिव्यक्तिले नारी-स्वतन्त्रतामा गम्भीर प्रश्न उठेको छ ।- मोदनाथ प्रश्रतिभानुभक्त नै हाम्रा आदिकवि हुन् । हामीलाई बोल्न सिकाएको, सम्पर्क विस्तार गर्न सिकाएको हाम्रो भाषाले हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेजस्तै भानुभक्तले नेपाली भाषाको एकीकरण गरे । उनको सांस्कृतिक एकताको सवर्धनमा भूमिका रह्यो । उनी बाहुन भए पनि सबै जात, जाति, भाषाभाषी र सम्प्रदायलाई जोडे । उनले एउटा नयाँ विषयको प्रतिपादन गरे । अहिले भानुभक्तलाई मान्दिनँ भन्नेहरू छन् । नेपाली भाषा भानुभक्तको योगदानले नै समृद्ध भएको हो । भानुभक्तप्रति संकीर्ण दृष्टिकोण राख्न मिल्दैन । उनी बाँचेको परिवेशले उनलाई आदिकवि बनायो ।
- घनश्याम ढकालइतिहासमा बसेका भानुभक्तलाई नेपालीले मान्नुचाहिँ पर्छ । नेपाली भाषालाई यस स्तरसम्म आइपुग्नुमा उनले पहिलो पाइला चाले, त्यो नै ठूलो कुरो हो । उनले राणाशासनको दबदबा भएका बेला भाषाको योगदानमै जीवनका सबै पाना खर्च गरे ।तर, म उनलाई आदिकविचाहिँ मान्दिनँ । मोतीरामले उनलाई आदिकवि भनेका मात्र हुन् । मोतीरामले यसो भनेर भानुभक्तअघिका कविमाथि ठूलो अन्याय गरे । उनका कविता सरल छन् । संस्कृतका विद्वान् हुँदाहुँदै पनि उनले नेपालीमा कविता लेखे । त्यो नै एउटा सकारात्मक पक्ष हो ।

No comments:

Post a Comment