Sunday, July 19, 2009

कतार एयरवेजबाट ९ कामदारको शव ल्याइयो

Limbu Students Form
काठमाडौं, रोल्पा जौलिपोखीका ४१ वषर्ीय गंगाराम पुन मगर जीवनमै पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । कसैको स्वागत वा बिदाइ गर्न होइन, उनी आफ्नो २१ वर्षे एक्लो छोरो जयबहादुरको शव लिन आएका थिए । कतारछेउको समुद्रमा पानी जहाज डुबेर तीन साताअघि ज्यान गुमाएका १२ मध्ये ९ जनाको शव शनिबार बिहान कतार एयरवेजबाट ल्याइएको थियो । 'भर्खरै परदेशिएको कमाइ गर्ने छोरो मर्‍यो, उता गाउँमा बुहारी दम्मी पनि दुई जिउकी छे,' आँसु रोक्दै गंगारामले भने, 'बाआमा र परिवारलाई सुख दिन्छु भनेर परदेशिएको छोराको शव बुझ्नुपरेको छ ।' एक वर्षअघि बिहा गरेर खाडी छिरेका जयबहादुरको पहिलो सन्तानको सातमहिने गर्भ श्रीमती दम्मीले हुर्काइरहेकी छन् । 'विदेशिँदा लागेको ऋण आधा बाँकी नै छ,' उनले भने, 'कतार जाँदा एक लाख रुपैयाँ खर्च भएको थियो । गएको सात महिनामा पचास हजार पठायो । महिनापिच्छे पैसा पठाउँछु भन्थ्यो ।' विमानस्थलमा उनको छोरासँगै ९ कामदारको शव कफिनमा प्याक गरेर ल्याइएको थियो । शव बुझ्न आएका आफन्तहरू शोकमा आहत थिए । बिहान नौ बजे शव आइपुग्ने भनिए पनि आफन्तहरू सात बजेअघि नै विमानस्थल पुगेका थिए । पर्वत कुर्घा-३ का ऋषिप्रसाद शर्मा -३९), अर्घाखाँची डिभर्ना-३ का मानसिंह खत्री -२४), बाग्लुङ छिस्ती-१ का लीलाराम पौडेल -४८), महोत्तरी सुँगा भवनीपट्टी-५ का राजीवकुमार दत्त -३२), पाल्पा गैंडाकोट-२ का तिलकबहादुर खम्चा
-३६), महोत्तरी बगडा-६ का शेषनाथ यादव, बारा फेटा-८ का मेहदी हुसेन मियाँ -४५), बाँके कठकुजा-१ का अब्बास अहमद साईको शव आफन्तले बुझे । शर्मा, खत्री, पौडेल, दत्त र खम्चाको शनिबारै आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चार जनाको शव सार्वजनिक बसबाट जिल्लास्थित घर लगिएको थियो ।
आर्यघाटमा परिवार आउन नसक्दा दुई जनालाई आफन्तले दागबत्ती दिएका थिए । 'बच्चाहरू सानै छन्, आउन नसक्ने भएपछि सबैको सहमतिमा दागबत्ती दिएँ,' बाग्लुङका मृतक लीलारामका भतिजा गोपालले भने । लीलानाथका एक छोरी र दुई छोरा छन् । मृत्यु भएका तीन जनाको शव ल्याइएको छैन । 'नवलपरासी हत्सेकोट- ८ का घनश्याम सार्की र दाङ हापुरे- २ का शंकर बिष्टको शव पहिचान -डीएनए परीक्षण) हुनेक्रममा छ भने धादिङ गुम्बी- ५ का गंगाबहादुर गुरुङको शव पहिचान प्रक्रियामा छ,' कतारस्थित नेपाली राजदूत डा. सूर्यनाथ मिश्रले कान्तिपुरसँग फोनमा भने । उनीहरू सबै दोहास्थित एचबीके पावर क्लिनिङमा कार्यरत थिए । यूएईमा रहेका 'बाल्स्िटङ पेन्टिङ ग्यास' को काम सकेर फर्केनेक्रममा चढेको जहाज दोहाको पर्सियन सागरमा गत असार १६ गते बिहान ६ बजे दुर्घटना भएको थियो । दुर्घटनामा १२ नेपालीसहित २९ जनाको मृत्यु भएको हो । यी कामदारका हकमा एचबीके कम्पनीले बाँकी बक्यौता तलब, उपदान तथा विमानस्थलबाट घरसम्म शव लैजान १५ सय रियालका दरमा ढुवानी खर्च उपलब्ध गराएको राजदूत मिश्रले बताए । यी नौ जनाको शवसँगै दोहामा डकर्मी पेसामा कार्यरत नुवाकोट, चारघरे- ३ का २५ वषर्ीय आइतराम मिजारको पनि शव ल्याइएको छ । गत असोजमा खाडी गएका उनले गत शनिबार आत्महत्या गरेको जनाइएको छ । शव बुझ्न मृतकका भाइ सुवर्ण आएका थिए ।

No comments:

Post a Comment